चिशंखुगढी कप भलिबलः विजेताले पाउनेछ २,२२,२२२
ओखलढुङ्गान्युज, बैशाख ७ शेर्ना । चिशंखुगढी गाँउपालिकाले आगामी बैशाख १६ गतेदेखी चिशंखुगढी कप अन्तर पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको तेश्रो संस्करण आयोजना गरेको छ । तेश्रो संस्करणको चिशंखुगढी कप पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद रु २ लाख २२ हजार २ सय २२ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
गाउँपालिकाले पछिल्लो पटक सार्वजनिक गरेको सूचनामा केहि हेरफेर समेत गरेको छ । यस अगाडी सार्वजनिक गरेको सूचनामा अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगितामा सहभागीता जनाउने खेलाडी एउटै पालिकाको मात्र हुनुपर्ने उल्लेख थियो । तर अब भने खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउने पालिकाले बढीमा दुईजना खेलाडी आफ्नो पालिका भन्दा बाहिरका राख्न पाउने जनाएको छ । तर खेलमा सहभागी हुने खेलाडी नाम भने पालिकाले गरेको सिफारिसमा अनिवार्य उल्लेख हुनुपर्ने जनाएको छ ।
प्रतियोगितामा उपविजेता हुने टिमले नगद रु १ लाख ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै तेश्रो स्थान प्राप्त गर्ने टिमले १ लाख ११ हजार १ सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने अर्थात चौथो हुने टिमले पनि नगद रु ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीलाई नगद रु ११ हजार १ सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक चिशंखुगढी गाँउपालिकाले जनाएको छ । त्यस्तै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट ओपन स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिवेरो र उत्कृष्ट क्विक स्पाइकर तथा अनुशासित खेलाडीलाई जनही नगद रु ५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक चिशंखुगढी गाँउपालिकाले जनाएको छ ।
यसअघि प्रतियोगिता आगामी फागुन १४ गतेदेखि सञ्चालन गर्ने गाँउपालिकाले सूचना सार्वजनिक गरेको थियो । तर आगामी फागुन १० गतेदेखि १४ गतेसम्म लिखु गाउँपालिकाले पनि प्रथम नर्मदेश्वर महोत्सवको अबसर पारेर आयोजना गरेको पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता जुधेपछि चिशंखुगढी गाँउपालिकाले प्रतियोगिता पछि सारेको हो ।