चम्पादेवी अध्यक्ष कप दोश्रो संस्करण पुरुष भलिबलको उपाधि आयोजक ‘ए’ लाइ
ओखलढुङ्गान्युज, ३१ चैत । चम्पादेवी गाउँपालिका ओखलढुङ्गाले आयोजना गरेको चम्पादेवी अध्यक्ष कप दोश्रो संस्करण पुरुष भलिबलको उपाधि चम्पादेवी गाउँपालिका आयोजक टिम ‘ए’ ले जितेको छ । शनिबार विलन्दुको डल्लीडाँडामा सम्पन्न प्रतिष्पर्धात्मक फाइनल खेलमा नेपाली सेनाको दुर्गाबक्स गणलाई ३-१ सेटमा पराजित गर्दै आयोजक ‘ए’ले उपाधि जितेको हो ।
उपाधि सँगै उसले नगद रु २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै उपविजेता बनेको नेपाली सेनाको दुर्गाबक्स गणले भने नगद रु १ लाख ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतिष्पर्धात्मक खेलको पहिलो सेट दुर्गाबक्स गणले २५-२२ ले जितेको थियो । तर दोश्रो सेटमा २५-१५, तेश्रो २५-१८ र चौंथौ सेटमा २५-१८ ले दुर्गाबक्स गणलाई पराजित गर्दै आयोजक ‘ए’ले उपाधि जितेको हो ।
त्यस्तै शनिबार नै तेश्रो स्थानका लागि भएको खेलमा लिखु गाँउपालिकाले २-० को सोझो सेटमा आयोजक चम्पादेवी गाउँपालिका टीम ‘बी’लाई पराजित गर्दै तेश्रो बनेको छ । तेश्रो बनेको लिखु गाँउपालिकाले नगद रु १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । सान्त्वना स्थान प्राप्त गरेको आयोजक टीम ‘बी’ ले पनि नगद रु ५० हजार हात पारेको थियो ।
त्यस्तै चम्पादेवी गाउँपालिका वडा स्तरिय महिला भलिबल प्रतियोगीतामा चम्पादेवी गाउँपालिका वडा नं. २ पलापु विजयी बनेको छ । चम्पादेवी गाउँपालिका वडा नं. ९ टिम ‘ए’ भने दोश्रो बनेको छ । त्यस्तै चम्पादेवी गाउँपालिका वडा नं. १ पलापु तेश्रो तथा चम्पादेवी गाउँपालिका वडा नं. ९ टीम ‘बी’ ले सान्त्वना स्थान हासिल गरेका थिए । महिला भलिबलमा बिजेता टीमले क्रमशः नगद रु ५० हजार, ३५ हजार, २० हजार र १० हजार सहित मेडल र प्रमाणपत्र हात पारेका थिए ।
विजेता टीमलाई राज्य ब्यबस्था तथा सुशासन समितिका सभापति एवम् ओखलढुङ्गाबाट निर्वाचित संघीय माननिय रामहरि खतिवडा लगायतका अतिथिहरुले नगद, शिल्ड मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।