ओखलढुङ्गामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुदै
ओखलढुङ्गान्युज, २९ चैत । आगामी आइतबारदेखि ओखलढुङ्गामा जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । आगामी चैत ३१, २०८१ देखी बैशाख २, २०८२ सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता हुन लागेको हो ।
जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ९ को डल्लीडाँडा खेलमैदानमा प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिए । गत वर्ष जिल्लाको रुम्जाटार माविले आयोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता आर्थिक वर्ष २०८१-०८२ मा चम्पादेवी गाउँपालिकाले आयोजना गर्ने गरि झण्डा बुझेको थियो । सोहि अनुसार यस पटक चम्पादेवी गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता गराउन लागेको हो ।
चम्पादेवी गाउँपालिकाको डल्लीडाँडामा हुने प्रतियोगिताको जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाले आयोजना गरेको हो भने प्रायोजन तथा व्यवस्थापन चम्पादेवी गाउँपालिकाले गरेको पनि जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा ओखलढुङ्गा जिल्लाका एक नगरपालिका र सात गाँउपालिका सहित आठ स्थानीय तहले सहभागिता जनाउने छन् । जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गरे पश्चात जिल्लाबाट प्रदेश स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता खेल्न जाने खेलाडीहरूको छनौट समेत हुनेछ ।