चम्पादेवीमा दोश्रो अध्यक्ष कप, आर्मीको विजयी सुरुवात
ओखलढुङ्गान्युज, २८ चैत । जिल्लाको चम्पादेवी गाउँपालिकामा बुधबारबाट दोश्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । चम्पादेवी गाउँपालिका वडा नं. ९ विलन्दुको डल्लीडाँडा बुधबारबाट प्रतियोगिता सुरुवात भएको हो ।
प्रतियोगिताको पहिलो दिन भएको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विभागिय टीम नेपाली सेनाको दुर्गाबक्स गणले विजयी सुरुवात गरेको छ । दुर्गाबक्स गणले आयोजक चम्पादेवी गाउँपालिका टिम बी लाइ प्रतिस्पर्धात्मक खेलमा २५-२२ र २५-२१ ले पराजित गर्दै विजय यात्रा सुरुवात गरेको छ ।
प्रतियोगितामा चिशङ्खुगढी गाउँपालिका, लिखु गाउँपालिका, विभागिय टीम नेपाली सेनाको दुर्गाबक्स गण र आयोजक चम्पादेवी गाउँपालिकाका तीन टिम गरी ६ वटा टीमले मात्रै प्रतिष्पर्धामा सहभागीता जनाएका छन् । प्रतियोगिताका विजेता टीम प्रथम, द्वितीय, तृतीय हुने टीमले क्रमशः नगद रु. २ लाख, १ लाख ५० हजार, १ लाख सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने टीमले नगद रु ५० हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा विधागत तर्फ पनि नगद पुरुस्कार र ट्रफिको ब्यबस्था गरिएको छ । प्रतियोगिताको दोश्रो दिनको पहिलो खेल चम्पादेवी गाउँपालिका आयोजक टिम सी भर्सेस लिखु गाउँपालिका बीचमा हुनेछ । दोश्रो खेल आयोजक बी भर्सेस चिशङ्खुगढी गाउँपालिकाका बिच रहनेछ ।