नेपाली समय Loading...२०८२ बैशाख २९ सोमबार

भरिया खोज्न जाने पलापुमा अहिले खेलाडी खोज्न जान्छन् : सांसद सुनुवार

ओखलढुङ्गान्युज, २८ चैत । कोशी प्रदेश सभामा पुर्व स्वास्थ्य मन्त्री तथा प्रवक्ता एवम् ओखलढुङ्गा जिल्ला प्रदेशसभा १ का माननिय प्रदिप कुमार सुनुवारले भरिया खोज्न जाने पलापुमा अहिले खेलाडी खोज्न जाने अबस्था आएको बताएका छन् । चम्पादेवी गाउँपालिकाको डल्लीडाँडामा बुधबारबाट सुरु भएको दोश्रो अध्यक्षकप खेलकुद प्रतियोगिता उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुनुवारले यस्तो बताएका हुन् ।

पहिला पहिला कतै भारि बोक्ने भरिया चाहियो भने पलापुमा पाइन्छ भन्ने प्रचलन थियो । तर विकास निर्माणसँगै साना ग्राउण्डमा खेलेको शिपका कारण जिल्लाकै शिर ठाडो पारिदिने खेलाडी पलापुमा उत्पादन भएको सांसद सुनुवारले बताए । खेलकुद क्षेत्रमा खेलाडीहरुको लगनशीलताका कारण पलापु तथा चम्पादेवी गाउँपालिकाका खेलाडीले राम्रो छाप छाडेको भन्दै पलापुका खेलाडी छन् भन्नासाथ अन्य ठाउँको खेलाडी नै प्रतिष्पर्धामा आउन छाडेको सांसद सुनुवारले बताए । 

 उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुनुवारले थोरै बजेटमा, विकट ठाउँमा पनि जिल्लाकै ठुलो खेलकुद मैदान निर्माण गर्न सफल भएकोमा गाँउपालिकालाइ धन्यवाद दिए । प्रतियोगिता सन्चालन गर्दा सबै नागरिकलाई सम्बोधन गर्ने गरि आयोजना गरिएको भन्दै खेलबाट पालिकामा नयाँ खेलाडी उत्पादन तथा भएकाको स्तर विकास हुने विश्वास व्यक्त गरे ।

गाँउपालिकाले गाँउ पालिका क्षेत्र भित्रका सबैलाइ समेट्ने गरि खेलकुद प्रतियोगिता सुरु गरेको छ। राष्ट्रिय खेल भलिबलसँगै गाँउपालिकाले किसान देखी कर्मचारी, बच्चा देखी बुढाबुढी तथा विद्यार्थीहरु समेत सहभागिता गराउने गरि प्रतियोगिता आयोजना गरेको गाँउपालिका अध्यक्ष नबराज केसीले बताए । खेलकुद प्रतियोगिता सन्चालन गरिएको स्थानबाट केहि नजिकै जिल्लाकै प्रसिद्ध धार्मिक तीर्थस्थल चम्पादेवी ककनी मन्दिर समेत रहेकाले त्यसको प्रचार प्रसार तथा आन्तरिक पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने समेत प्रतियोगिताको उद्देश्य रहेको अध्यक्ष केसीको भनाई थियो ।

कार्यक्रमको उदघाटन सत्रमा विशेष अतिथी अन्तर्राष्ट्रिय पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी, चम्पादेवी गाउँपालिकाकी उपाध्यक्ष दिलमाया मगर, सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी, विभिन्न राजनितिक दलका प्रतिनिधि अतिथिहरुले पनि शुभकामना प्रदान गरेका थिए । 

प्रतियोगितामा महिला तथा पुरुष गरि २० स्पर्धा समाबेश गरिएका छन् । प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।