नेपाली समय Loading...२०८१ चैत्र २५ सोमबार

९७ बर्षमा अस्ताए वरिष्ठ पत्रकार भैरव रिसाल

ओखलढुङ्गान्युज, २५ चैत । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा असामयिक निधन भएको छ । वरिष्ठ पत्रकार रिसालको आइतबार साँझ उपचारका क्रममा फ्रन्टलाइन अस्पतालमा निधन भएको हो ।

वरिष्ठ पत्रकार रिसालको स्वास्थ्यमा समस्या देखिए पश्चात आइतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा रिसालको आइतबार साँझ पौने ८ बजे निधन भएको उनका माइला भाइ पुरू रिसालले जानकारी दिए ।

वरिष्ठ पत्रकार रिसालका छोरी सुष्मा रिसालका अनुसार रिसालको शबलाई पाटन स्वास्थ विज्ञान प्रतिष्ठानमा लगिएको छ । रिसालले मृत्युपछिको शरीर दान गरेकाले शबलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो ।

पाका पत्रकार स्वर्गीय रिसाल पञ्चायतकालदेखि नै पत्रकारितामा निकै सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल त्यहाँबाट अवकाश भएपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहेका थिए ।

रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे भने उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउथे । स्वर्गीय रिसाल जयन्तु संस्कृतम् आन्दोलनमा पनि सक्रिय थिए ।