नेपाली समय Loading...२०८१ चैत्र २७ बुधबार

ओखलढुङ्गाको मोलुङमा एक महिलाको लडेर मृत्यु

ओखलढुङ्गान्युज, २४ चैत । जिल्लाको मोलुङ गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं. ५ की अन्दाजी २६ वर्षिया विन्दामाया परियार रहेकी छन् ।

मृतक परियार आईतबार बिहान जेठानी दिदीहरुसँग बारीको मकै गोडमेल गर्ने बेला भएनभएको बारेमा हेर्ने तथा दाउरा लिएर फर्कने भनेर गएकी थिईन् । दाउरा निकाल्न भिरको दाउरा तान्ने क्रममा परियार रानीवन सामुदायीक बन रहेको मोलुङ गाउँपालिका वडा नं. ३ र ५ को सिमानाको भिरबाट विहान साँढे ८ बजेतिर वडा नं. ३ तर्फ लडेकी थिईन् ।

वडा नं. ३ प्राप्चा तर्फको जंगल रहेको भिरबाट करीब ३–४ सय मिटर तल झरेकी परियारको उद्धारको क्रममा घटनास्थलमा नै मृत्य भएको प्राप्चाबाट स्थानीय समाजसेवी भूमरी लामाले जानकारी दिए । घटनाबारे जानकारी हुनासाथ अस्थाई प्रहरी चौकी प्राप्चाको टोली घटनस्थलमा पुगेको थियो ।

घटनाको बारेमा आवश्यक कानूनी प्रकृया पूरा गराउनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली भने ढिला गरेर पुगेको थियो । ईलाका प्रहरी कार्यालय रामपुरमा प्रहरी प्रमुख नभएको र जिल्ला प्रहरी प्रमुख पनि कामको शिलशिलामा जिल्ला बाहिर भएको कारण जिल्ला प्रहरीको टोली घटनास्थलमा दिउँसो ३ बजेतिर मात्र पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर आवश्यक कानूनी प्रकृया पुरा गरी शबको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ । 

मृतक परियारको डेढ बर्षको बच्चा छ । घटना भएको बेला उनको श्रीमान् र ससूरा भने घरमा नै रहेको थिए ।