सोलुखुम्बुमा बोलेर दुर्घटना हुँदा एकको मृत्यु
ओखलढुङ्गान्युज, २४ चैत । शनिबार बेलुकी सोलुखुम्बु जिल्लाको सोताङमा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो जिपमा सवार ३० वर्षीया सरिता राई रहेकी छन् ।
शनिबार बेलुकी सामान बोकेर सोताङ गाउँपालिका वडा नम्बर २ बाट जुके भन्ने स्थानतर्फ जाँदै गरेको प्र–३–०१–०२४ च ६८१४ नम्बरको बोलेर जिप दुर्घटनामा परेको हो । तीव्र गतिमा रहेको बोलेर जीप सडकबाट चिप्लिएर भिरमा करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
बोलेरो जिप दुर्घटनामा परेपछि स्थानीयको सहयोगमा दुर्घटनामा परेकाहरुलाई उद्धार गरी स्वतन्त्र अस्पतालतर्फ लैजाँदै गर्दा सरिताको बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आमासँगै दुर्घटनामा परेका १८ महिने बच्चा रेबन राईको भने सोताङ अस्पतालमा उपचार भइरहेको छ ।
बोलेर जिपमा सवार अन्य दुई जना यात्रु भने सकुशल रहेको पनि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुर्घटनामा परेका बोलेर चालक ४३ वर्षीय प्रेम राईलाई इलाका प्रहरी कार्यालय सोताङले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।