नेपाली समय Loading...२०८१ चैत्र २१ बिहीबार

ओखलढुङ्गाका एमाले नेताले हाले जनताको आँखामा छारो, रुम्जाटारको यातायात कार्यालय अब हर्कपुरमा ?

ओखलढुङ्गान्युज, १४ चैत । जिल्लाको रुम्जाटारबाट प्रवाह हुदै आएको यातायात सम्बन्धि सेवा कार्यालय हर्कपुरमा सरेको छ । विगत केहि वर्षदेखि जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारको एयरपोर्ट नजिकै उक्त कार्यालय सन्चालनमा रहेको थियो ।

विशेषतः ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु जिल्लाको लागि लक्षित गरेर सन्चालन गरिएको यातायात सेवा कार्यालय अब मानेभञ्ज्याङ गाँउपालिकाको हर्कपुरबाट सन्चालन हुन लागेको हो । रुम्जाटारमा रहेको उक्त कार्यालय हर्कपुरमा सार्ने कोशी प्रदेश सरकारले निर्णय गरेपछि रुम्जाटार आसपासका स्थानीय नागरिकहरुले नेताहरुको विरोध गर्दै नेकपा एमाले र नेपाली कांग्रेस ओखलढुङ्गाको पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

कार्यालय सार्ने भनेर नेकपा एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारले निर्णय गरेपछि एमाले ओखलढुङ्गा जिल्ला कमिटीको बैठक चलिरहेको बेला नेकपा एमालेका केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेशसभाका पूर्व भौतिक तथा पुर्वाधार विकास राज्य मन्त्री अमिरबाबु गुरुङ लगायत नेताहरुलाई स्थानीय नागरिकहरुले पार्टी कार्यालयमा नै थुनेका थिए । गुरुङले कुनै पनि हालतमा यातयात सेवा कार्यालय रुम्जाटारबाट सार्न नदिने प्रतिवद्धता गरेपछि स्थानिय नागरिकले पार्टी कार्यालयमा लगाएको ताला खोलिदिएका थिए भने नेताहरुलाई मुक्त गरेका थिए ।

तर एमाले नेताहरुले गरेको प्रतिबद्धतालाई एमाले नेतृत्वको कोशी प्रदेश सरकारले सुनेन । चैतको दोश्रो हप्ताबाट यातयात सेवा कार्यालय रुम्जाटारले प्रवाह गर्ने सेवा हर्कपुरबाट हुन थालेको छ । रुम्जाटार आसपासका स्थानीय नागरिकहरुले अबरोध गर्न सक्ने सम्भावनाका कारण रुम्जाटारमा रहेको यातायात सेवा कार्यालयलाई तत्कालै बन्द भने गरिएको छैन । आवश्यक पुर्वाधार तयार भएपछि कार्यालयका अन्य सेवाहरु पनि हर्कपुरबाट सन्चालन हुनेछन् । कार्यालयले हाल हर्कपुरमा सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रवाह सुरुवात गरेको हो । यातायात व्यवस्था कार्यालय, सम्पर्क कार्यालय हर्कपुरमा तत्काल नविकरणको मात्रै काम हुनेछ ।

कार्यालय सारिएको विषयमा प्रश्न गर्दा यातायात व्यवस्था कार्यालय ओखलढुङ्गा रुम्जाटारका प्रमुख गोविन्द आचार्यले भने आफु नयाँ भर्खर आएकोले जानकारी नभएको बताए । हर्कपुरमा के कसरी कार्यालय सन्चालनमा आएको हो भन्ने बारेमा आफुलाई थाहा नभएको तर त्यहाँबाट तत्काल नविकरणको कार्य मात्रै हुने आचार्यले बताए । उनले भने, “हर्कपुरको कार्यालय सन्चालन आएको बारेमा त्यति थाहा भएन । सायद मन्त्रालयले नै होला । म त नयाँ आएको छु । रुम्जाटारको कार्यालय तत्काल सार्न सम्भावना त छैन । हर्कपुरमा नविकरणको काम मात्रै हुन्छ ।”