नेपाली समय Loading...२०८१ चैत्र २१ बिहीबार

लिखुमा सुरुभयो राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण

ओखलढुङ्गान्युज, १० चैत । जिल्लाको लिखु गाउँपालिकामा शुक्रबार देखी राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण कार्य सुरु भएको छ । शुक्रबार देखी लिखु गाउँपालिकाको वडा नं. ५ यसमबाट राष्ट्रिय परिचयपत्र नयाँ दर्ता तथा नवीकरण कार्य सुरु भएको हो ।

सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरुको लागि नेपाल सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र नभएका जेष्ठ तथा अपाङ्गता भएका नागरिकहरु मर्कामा परेका थिए । राष्ट्रिय परिचयपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता नपाउने भएपछि हजारौं खर्च गरेर जोखिमपुर्ण यात्रा गर्दै राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला सदरमुकाम धाउन बाध्य थिए ।

सेवा लिन पालो कुर्दै सेवाग्राही नागरिकहरु

राष्ट्रिय परिचयपत्रका लागि यसभन्दा अगाडि फारम भरेका कतिपय नागरिकहरूको परिचयपत्र पनि आएको छैन । पुन दर्ताका लागि जेष्ठ, अपाङ्गता भएका तथा विरामी सेवाग्राही नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम नै जानु पर्ने भएपछि गुनासो आएको थियो । नागरिकहरुले गुनासो गरेपछि स्थानीय जनप्रतिनिधिहरुको अनुरोध तथा समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको सहयोगमा शुक्रबारदेखि लिखु गाउँपालिकाको वडा वडामा नै राष्ट्रिय परिचयपत्र दर्ता वितरण कार्य सुरु गरिएको हो ।

यो शिविरमा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही नागरिकहरुलाई प्राथमिकताका राखि सेवा प्रदान गरिएको लिखु गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एवम् लिखु गाउँपालिकाका प्रबक्ता मोहन कार्कीले जानकारी दिए । प्रबक्ता कार्कीका अनुसार सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही नागरिकहरुलाई प्राथमिकतामा राखेर राष्ट्रिय परिचयपत्र दर्ताको कार्य भैरहेको छ । त्यससँगै जिल्ला प्रशासन कार्यालयमा गएर राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गरेका र परिचयपत्र आएकाहरुलाई वितरण तथा नाम दर्ता गरेका तर परिचयपत्र नआएका नागरिकहरुको पहिचान गरि पुन दर्ता प्रक्रिया अगाडी बढाइएको प्रबक्ता कार्कीले जानकारी दिए ।

शिविर आइतबार (आज) सम्म वडा नं. ५ मा नै रहने तथा शोमबार (चैत ११, भोली) देखी वडा नं. ३ नर्मदेश्वरको वडा कार्यालयमा सन्चालन हुने प्रबक्ता कार्कीले जानकारी दिए । प्रत्येक वडामा हुने शिविरमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित बर्गमा नागरिकलाई प्राथमिकता दिइने छ । प्रत्येक वडामा सकिएपछि नयाँ दर्ता र वितरणका लागि गाँउपालिकाको कार्यालयमा नै केहि दिन शिविर सन्चालन गरिने प्रबक्ता कार्कीले जानकारी दिए ।