सिन्धुलीको खाल्टेमा अटो दुर्घटना, ओखलढुङ्गाकी एक महिला सहित पाँच घाइते
ओखलढुङ्गान्युज, १ चैत । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ६ मा पर्ने विपी राजमार्गमा आज अटो दुर्घटना भएको छ । अटो दुर्घटनामा परि चार बर्षिया शिशु सहित पाँच जना घाइते भएका छन् ।
सिन्धुलीको खाल्टे भन्ने स्थानबाट चार जना यात्रु बोकेर खुर्कोट तर्फ जादै गरेको ज १ ह १११२ नम्वरको अटो सुनकोशी गाउँपालिका वडा नं ६ विपी राजमार्गको वास खोल्सामा दुर्घटनामा परेको हो । तिब्र गतिमा रहेको अटो आफै अनियन्त्रित भएर सडकमा पल्टीदा चार बर्षिया नाबालिका सहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ।
प्रबक्ता कार्कीका अनुसार घाइते हुनेहरुमा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ६ का ३९ बर्षीय कमल विशंखे, २७ बर्षिया सुनिता बिशंखे, ४ बर्षिया नाबालिका अक्सना आच्छामी र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं. ४ यसमकी ६५ बर्षिया शान्ता सार्की रहेकी छन् । त्यस्तै अटो चालक खाल्टे कै ५० बर्षिय गोपाल सार्की पनि घाइते भएको सूचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
अटो दुर्घटनामा परेकाहरुलाई स्थानीयबासीहरुले तत्काल उद्दार गरी आत्मिय सामुदायीक अस्पताल पुर्याएका थिए । उनीहरुको प्राथमिक उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको सिन्धुली प्रहरीले जनाएको छ । घाइते मध्ये नाबालिकाको अबस्था गम्भिर रहेको र अन्यको भने सामान्य अबस्थामा धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।