लिखुको यसममा ६ मेगावाटको क्यासकेड जलविद्युत आयोजना बन्ने
ओखलढुङ्गान्युज, २१ फागुन । जिल्लाको लिखु गाउँपालिका वडा नं. ४ यसममा ६ मेगावाट क्षमताको तल्लो लिखु क्यासकेड जलविद्युत आयोजना बन्ने भएको छ । परियोजना सन्चालन हुने भएपछि परियोजना प्रस्तावक कम्पनी स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज यसममा परियोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइईई) प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै उक्त कुराको जानकारी गराएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा परामर्शदाता कम्पनी सानीमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिको तर्फबाट तयार पारिएको प्रारम्भिक वातावरणीय प्रभाव र असर तथा प्रभावित ब्यक्ती तथा क्षेत्रको बारेमा प्रतिवेदन प्रस्तुत गरिएकाो थियो । प्रारम्भिक प्रतिवेदन प्रस्ताव अनुसार परियोजनाको कुल लागत १ अर्ब २० करोडको रहने छ । कुल बजेट मध्ये ९० लाख भने स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गर्दै सामुदायिक सहयोग कार्यक्रममा खर्च हुने प्रतिवेदनमा उल्लेख छ ।
बुधबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरिएको परियोजना सन्चालन वातावरणिय प्रतिवेदनमा मुख्य गरि ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं. ४, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं. ४ र रामेछाप नगरपालिकाको वडा नं. १ प्रभावित हुने जनाइएको छ । तर परियोजना सन्चालन गर्दा त्यसले लिखु गाउँपालिकाको वडा नं. ३ र ५ तथा रामेछाप नगरपालिकाको वडा नं. ३ समेत प्रभावित हुने भन्दै प्रभावित क्षेत्रको सूचिमा यिनीहरुलाई समेत समेट्न स्थानीय जनप्रतिनिधिहरुले आग्रह गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय नागरिकहरुले भने परियोजना सन्चालन गर्दा रोजगारमा प्रभावित क्षेत्रका नागरिकलाई प्राथमिकता दिनुपर्ने, प्रभावित क्षेत्रका नागरिकको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक विस्तार तथा लिखुमा रामेछाप नगरपालिका १ र लिखु गाउँपालिका ४ जोड्ने गरि पक्की पुल निर्माण गर्नुपर्ने माग गरेका थिए । परियोजना सुरुवात हुनु पुर्व आश्वासन दिएपनि परियोजना सुरु वा अन्त्य भएपछि नागरिकको मागलाई सम्बोधन नगरि कम्पनीले बेवास्ता गर्ने गरेको भन्दै नागरिकको मागलाई सम्बोधन गर्ने ग्यारेन्टी कम्पनीले गर्नुपर्ने स्थानीयले बताएका थिए ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुले पनि नागरिकको आवश्यकता र मागको विषयमा सम्बोधन हुने ग्यारेन्टी परियोजना सन्चालन गर्ने कम्पनीले लिनु पर्ने बताएका थिए । लिखु गाँउपालिका अध्यक्ष अशोक कुमार कार्कीले सरकारी नियमअनुसार कम्पनीले योजना सन्चालन गरे स्थानीय सरकारले पनि सहयोग गर्ने तर नियम भन्दा बाहिर रहे स्थानीय सरकारले पनि जनताको हित भन्दा बाहिर रहेर सहयोग गर्न नसक्ने बताएका थिए ।
कार्यक्रमको अन्त्यमा छलफलमा उठेका विषयलाई परामर्शदाता कम्पनी सानीमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिका प्रमुख सुवर्ण दास श्रेष्ठले सम्बोधन गरेका थिए । स्थानीय जनप्रतिनिधिहरुले प्रभावित क्षेत्र थप्नुपर्छ भनेर उठाएको विषयमा भने पुनः फिल्डमा नै टोली गएर अध्ययन गरिने र प्रभावित क्षेत्र थप्नै पर्ने रहेछ भने समाबेश गरिने समेत प्रतिबद्धता जनाए । परियोजना सुरुवात गरेको २ बर्ष भित्रमा परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको समेत श्रेष्ठले बताए ।
क्यासकेड परियोजनाको लम्बाई करीब डेढ किलोमिटरको रहने स्वेत गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड लिखु तामाकोशी २ का जनसम्पर्क अधिकृत राज कुमार राउतले बताए ।
के के भयो त छलफल सार्वजनिक सुनुवाईमा ? लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् :-
https://www.facebook.com/share/v/1DpFiWZ6Gh/