वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पलापुलाई
ओखलढुङ्गान्युज, २८ माघ । जिल्लाको लिखु गाउँपालिका वडा नं. ८ टारकेराबारीमा आज सम्पन्न भएको खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी पलापुले जितेको छ । आज सम्पन्न भएको फाइनल खेलमा पलापुले आयोजक ए लाई २५-२१, २५-१९, २५-२२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेताको उपाधिसँगै पलापुले नगद रु १ लाख ११ हजार १११ सहित शील्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा चम्पादेवी गाउँपालिका वडा नं. १ पलापुसँग पराजित बनेको आयोजक टारकेराबारी युवा समूह टीम ए उपविजेता बनेको छ । उपविजेता बनेको आयोजक ए ले नगद रु ७७ हजार ७७७ का साथमा शील्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यसैगरी आज विहान तेश्रो स्थानका लागि भएको फाइनल खेलमा लिखु ७ गाम्नाङटारले लिखु ९ पोकलीलाई निकै कडा प्रतिष्पर्धात्मक खेलमा ३-२ सेटले पराजित गर्दै तेश्रो बनेको छ । गाम्नाङटारले पोकलीलाई २५-२२, २६-२८, २५-२१, २२-२५ र १५-७ को सेटमा पराजित गर्दै तेश्रो बनेको हो । तेश्रो बनेको लिखु ७ ले नगद रु ५५ हजार ५५५ का साथमा शील्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । चौथो बनेको पोकलीले भने नगद रु २२ हजार २२२ प्राप्त गरेको छ ।
प्रतियोगितामा चम्पादेवी १ पलापुका ससित मगर सर्बोत्कृष्ट खेलाडी घोषित हुदै नगद रु ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै अन्य विधा तर्फ लिखु ८ टारकेराबारीका अरुण अधिकारी उत्कृष्ट सर्भर, लिखु ९ पोकलीका सोम खड्का उत्कृष्ट डिफेन्डर, चम्पादेवी १ पलापुका रमेश श्रेष्ठ उत्कृष्ट सेटर, लिखु ७ गाम्नाङटारका प्रकाश पौडेल उत्कृष्ट स्पाइकर र लिखु ८ टारकेराबारी आयोजक ए का लक्ष्मण भुजेलले उत्कृष्ट ब्लकर घोषित भए । विधागत तर्फ उत्कृष्ट बनेका खेलाडीहरुले पनि जनही नगद रु २ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रथम : चम्पादेवी गाउँपालिका १, पलापु
टारकेराबारीमा झण्डै १५ बर्ष देखी कुनै प्रतियोगिता संचालन नभएकोले आफुहरुले यसपटक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको आयोजक खेलकुद संयोजक उमेश कुमार पौडेलले जानकारी दिए । प्रतियोगिता सन्चालन गर्दा शहर पसेका युवाहरु गाँउमा आउनुका साथै युवा खेलाडीहरुको उत्पादन समेत हुनेभएकोले खेलको आयोजना गरिएको संयोजक पौडेलको भनाई छ । आगामी दिनमा पनि टारकेराबारी युवा समुहले यस्ता प्रतियोगितालाई निरन्तरता दिने पौडेलले प्रतिबद्धता जनाए ।

दोश्रो : लिखु गाउँपालिका वडा नं. ८ टारकेराबारी ए
टारकेराबारी युवा समूह लिखु ८ टारकेराबारीले माघ २५ गतेबाट खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेताहरुलाई वडा अध्यक्ष पुरुषोत्तम पौडेल, खेलकुद संयोजक उमेश कुमार पौडेल लगायतका अतिथिहरुले नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

तेश्रो : लिखु गाउँपालिका वडा नं. ७ गाम्नाङटार