आजबाट जिल्ला अदालत ओखलढुङ्गाको सेवा नयाँ भवनबाट

माननिय जिल्ला न्यायाधीश गिरीराज गौतम
ओखलढुङ्गान्युज, २१ माघ । जिल्ला अदालत ओखलढुङ्गाले आजबाट सेवाग्राहीलाई आफ्नो नयाँ भवनबाट सेवा प्रवाह गर्न थालेको छ । आज बशन्त पञ्चमीको अबसर पारेर जिल्ला अदालत ओखलढुङ्गाले आजबाट सेवाग्राहीलाई दिने सम्पुर्ण सेवा नयाँ भवनबाट दिन लागेको हो ।
सदरमुकाम स्थित राम बजारमा रहेको जिल्ला अदालतको भवन पुरानाे र जीर्ण भएपछि सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या हुदै आएको थियो । तर आजबाट अदालत नयाँ भवनमा सरेको र आज शोमबारबाट नै जिल्ला अदालत ओखलढुङ्गाको सम्पुर्ण सेवा नयाँ भवनबाट दिन लागेको जिल्ला अदालत ओखलढुङ्गाका माननिय जिल्ला न्यायाधीश गिरीराज गौतमले बताउनुभयो ।

जिल्ला अदालत ओखलढुङ्गाको नयाँ भवन
माननिय जिल्ला न्यायाधीश गौतमका अनुसार नयाँ भवनमा हरेक मुद्दाको छुट्टाछुट्टै इजलास रहेको छ । तत्कालका लागि केहि समय जिल्ला अदालत कार्यालयसम्म पुग्नेबाटो धुलाम्मे रहेको भएपनि त्यसको समाधानका लागि प्रदेश सघन शहरी विकास कार्यालयसँग समन्वय भैरहेको माननिय जिल्ला न्यायाधीश गौतमले बताउनुभयो ।
कार्यालय नयाँ भवनमा सरेपनि विद्युत, इन्टरनेट, खानेपानी जडानका कार्यहरु भैरहेका छन् । नयाँ भवनको निर्माणको काम सकिएपनि हस्तान्तरणको कार्य भने भएको छैन । प्रदेश सघन शहरी विकास कार्यालयका कर्मचारीको
ब्यस्तताले भवन हस्तान्तरणको कार्य हुन बाँकी रहेको र केहिदिनमा नै ठेकेदार कम्पनीको तर्फबाट भवन हस्तान्तरण हुने माननिय जिल्ला न्यायाधीश गौतमले बताउनुभयो । स्काइ स्लेट चन्द्रज्योती जेभिले १९ करोड ६४ लाख भ्याट बाहेक तथा २२ करोड ३० लाख ३२ हजार ६६५ भ्याट समेतको बजेटमा भवन निर्माण कार्य सम्पन्न भएको हो ।