कुइभिरमा खोसेलोबाट समाग्री बनाउने तालिम सम्पन्न
ओखलढुङ्गान्युज, २० माघ । जिल्लाको चिशंखुगढी गाँउपालिकाको वडा नं. १ कुइभिरमा खेर गइरहेको मकैको खोसेलोबाट सामग्री उत्पादन गर्ने तालिम सम्पन्न भएको छ । एक महिना अघिबाट सुरु भएको उक्त तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो ।
स्थानीय नागरिकहरुलाई शीप सिकाएर आत्म निर्भर बनाउने उदेश्यका साथ चिशंखुगढी गाँउपालिकाको आर्थिक वर्ष २०८१/८२ को बार्षिक कार्यक्रम र बजेट अनुसार गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत तालिम प्रदान गरिएको कुइभिरका वडा अध्यक्ष उषक कटवालले बताए । एक महिने तालिममा २१ जना महिलाले सहभागिता जनाएका थिए । गाँउघरमा खेर गइरहेको खोसेलोबाट पनि सामाग्री उत्पादन गरेर प्रयोग तथा विक्री गर्न सकिन्छ भन्ने जानकारी स्थानी यस तालिमबाट पाएको अध्यक्ष कटवालको भनाइ छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै चिशंखुगढी गाँउपालिकाका अध्यक्ष निशान्त शर्माले तालिममा सिकेका कुराहरुलाई तालिममा मात्रै सिमित नराख्न सहभागीहरुलाई अनुरोध गरे । अहिले खोसेलोबाट उत्पादन भएका सामाग्रीहरुको देशमा मात्रै नभएर विदेशमा पनि माग रहेको अध्यक्ष शर्माको भनाई छ । तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा उतारेर सामाग्री उत्पादन गरेर विक्री नभए विक्री वितरणका लागि गाँउपालिकाले आवश्यक समन्वय गरिदिने समेत अध्यक्ष शर्माले प्रतिबद्धता व्यक्त गरे ।
एक महिने तालिमबाट तालिममा सहभागीहरुले पिरा, डोरम्याट, ढकी, चप्पल लगायतका सामाग्री कसरी निर्माण गर्न सकिन्छ भन्ने लगायतका शीप सिकेका छन् । तालिम चिशंखुगढी गाँउपालिकाको वडा नं. १ कुइभिरमा एक महिना सम्म सन्चालन भएको थियोे ।