नेपाली समय Loading...२०८१ माघ ९ बुधबार

आयल निगमले बढायो डिजेल र पेट्रोलको मूल्य 

ओखलढुङ्गान्युज, ३ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । बिहिबार बिहान मध्यरातिदेखि लागू हुनेगरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको हो ।

आयल निगमले बुधबार साँझ एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको जानकारी गराएको हो । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त भएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २४ पैसा र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य वृद्धि भएर आएसँगै अब नेपालमा पेट्रोलको मूल्य १६५ रुपैयाँ सम्म तथा डिजेल र मट्टीतेलमा १५६ रुपैयाँ सम्म पर्ने छ । पछिल्ला दिनमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाइरहेको छ ।