नेपाली समय Loading...२०८१ माघ २ बुधबार

मानेभन्ज्याङमा वडा अध्यक्ष कप फुट्सल प्रतियोगिता सुरु 

ओखलढुङ्गान्युज, २९ पुस । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकाको राघवपुरमा आइतबारबाट वडा अध्यक्ष कप फुट्सल प्रतियोगिता सुरु भएको छ । “भाषा, भेषभुषा, धर्म संस्कृति हाम्रो पहिचान, खेलकुदको माध्यमबाट राघवपुरलाई चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ फुटसल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन सत्रमा सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले मानेभञ्ज्याङ गाँउपालिका खेलकुदको हब बन्न लागेको बताए । अध्यक्ष रुम्दालीले गाँउपालिकाले खेलकुदको विकासका लागि खेलकुद क्षेत्रमा लगानी बढाएको बताए । पहिलो चरणमा गाँउपालिकाले कराँते बिधाको प्रशिक्षक नियुक्ति गरेको बताउदै सानो मैदान र थोरै खेलाडी सहभागी भएर पनि खेल्न सकिने फुटसलको क्षेत्रमा पनि गाँउ पालिकाले आगामी दिनहरूमा लगानी बढाउदै जाने बताए ।

आइतबारबाट मानेभन्ज्याङ गाउँपालिका वडा नं ८ राघवपुरमा रहेको नयाँ खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता ‘फाइव ए’ साइडमा फिफाको नियम अनुसार सन्चालन गरिएको छ । एन्फा (ANFA) रेफ्रिहरु सुमन गुरुङ र घनश्याम गुरुङले प्रतियोगितामा निर्णायकको भूमिका निभाइरहेका छन् । 

प्रतियोगिताका विजेताले नगद रु ६६ हजार ६ सय ६६ रुपैयाँ सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मानेभञ्ज्याङ गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष भिम बहादुर मगरले जानकारी दिए । त्यस्तै उपविजेताले भने नगद रु ३३ हजार ३ सय ३३ का साथमा शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगितामा तेश्रो स्थान प्राप्त गर्न सफल टीमले नगद रु १६ हजार ६ सय ६६ का साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वना स्थान प्राप्त गर्न सफल टिमले ८ हजार ३ सय ३३ का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष मगरले जानकारी दिए ।

त्यसैगरी प्रतियोगिताका उत्कृष्ट गोल किपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाइ जनही नगद रु २ हजारका साथमा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक सहित ओखलढुङ्गा, खोटाङ र उदयपुरका ३० टीमले सहभागिता जनाएका छन् ।

आइतबार भएको पहिलो उद्घाटन खेलमा भने आयोजक टीम ‘सी’ ले सुनकोशी गाउँपालिकाको नमुना युवा क्लब पारा लाइ १-० गोलले पराजित गर्दै विजयी बनेको छ । नमुना युवा क्लब पारा प्रतियोगितामा खेल खेलेर बाहिरीने पहिलो टीम बनेको छ । आफुले पाएको मौकाको सदुपयोग गर्न नसक्दा तथा प्रहार गरेको दुइवटा बल गोलपोष्टको बारमा लागेर फर्किदा पाराले पराजय ब्यहोर्न पुगेको हो । नकआउटका आधारमा सन्चालन भैरहेको प्रतियोगिता अन्तर्गत शोमबार १० वटा खेल सन्चालन हुने आयोजकले जनाएको छ ।