खिजीदेम्बामा मध्यरातमा आगलागि, लाखौंको क्षति
ओखलढुङ्गान्युज, २७ पुस । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको खिजीफलाटेमा शुक्रबार मध्यराति आगलागि भएको छ । खिजीफलाटे बजारको बसपार्क क्षेत्रमा विद्युत सर्ट भएर आगलागि हुँदा तीन घर जलेर पूर्णरूपमा नष्ट भएको छ ।
शुक्रबार मध्यराति खिजिदेम्बा गाउँपालिका वडा नं. ५ बसपार्क क्षेत्रमा विद्युत सर्ट भएर लक्ष्मी तामाङको घरबाट आगलागि सुरु भएको हो । बिजुलिको तार सर्ट भइ अचानक आगलागी हुदाँ तामाङको घर पुर्ण रुपमा जलि नष्ट भएको छ । आगलागिका कारण सोहि घरमा डेरा गरि कपडा पसल संचालन गर्ने खिजिदेम्बा ३ बस्ने बिनोद सुनुवारको कपडा पसल पुर्ण रुपमा जलि नष्ट भएको तथा सोहि घरमा डेरा गरि होटल संचालन गर्ने दशरथ सुनुवारको होटल पुर्ण रुपमा जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
उक्त आगलागिका कारण खिजिदेम्बा ५ मा रहेको ङ्वाङ फुरि शेर्पाको एकतल्ले पक्कि घरको २ वटा झ्याल निमा तामाङको तिन तल्ले पक्की घरको पहिलो र दोस्रो तल्लाको चार वटा झ्याल र गोपाल बि.क.को चार तल्ले पक्कि घरको ५ वटा झ्याल जलि नष्ट भएको सुचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
मध्यरातमा सुरु भएको आगलागिलाई प्रहरी र स्थानीय बासिन्दाको सहभागितामा शनिबार बिहान करिब ३ बजेतिर पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगलागिका कारण कुनै मानवीय र पशु चौपाया भने क्षति नभएको पनि प्रहरीले जनाएको छ।