आगामी फागुनमा प्रथम नर्मदेश्वर महोत्सव सन्चालन हुने
ओखलढुङ्गान्युज, २३ पुष । जिल्लाको लिखु गाउँपालिकामा प्रथम नर्मदेश्वर महोत्सव हुने भएको छ । लिखु गाउँपालिका वडा नम्बर ३ नर्मदेश्वरमा रहेको नर्मदेश्वर महादेव स्थान परिसरमा प्रथम महोत्सव हुन लागेको हो ।
झन्डै ३५० वर्ष पुरानो नर्मदेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्दै स्थानीय तथा बाह्य पर्यटनलाई आकर्षित गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको लिखु गाउँपालिका वडा नम्बर ३ नर्मदेश्वरका वडा अध्यक्ष सोकर्ण श्रेष्ठले जानकारी दिए । महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटनहरूको आगमनमा वृद्धि हुनुका लिखु गाउँपालिकाको आयआर्जनमा वृद्धि गराउने उद्देश्य लिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महोत्सव सञ्चालन गर्ने बारेमा केही दिन अगाडि भएको सर्वपक्षीय छलफलमा महोत्सव कार्यक्रममा प्रमुख अतिथि को ल्याउने भन्ने विषयमा भने टुङ्गो लागिसकेको छैन । प्रमुख अतिथिको टुङ्गो नलागे पनि पाँच दिनसम्म महोत्सव सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले महोत्सव सञ्चालनका लागि विभिन्न समिति तथा उपसमिति पनि निर्माण गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महोत्सवको अवधिभर स्थानीय उत्पादनको परिकारहरूको प्रदर्शनसँगै खेलकुद प्रतियोगिता तथा राष्ट्रिय, स्थानीय स्तरका कलाकारहरूको उपस्थितिमा बृहत सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने वडा अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै कार्यक्रममा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिने तय भएको पनि वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
शिवरात्री २०८१ को अवसर पारेर आयोजना गरिएको उक्त महोत्सव आगामी फागुन १० गतेदेखि फागुन १४ गतेसम्म पाँच दिन सञ्चालन हुने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।