लिखुका सबै वडामा सिसी र प्लाष्टिक जन्य पद्धार्थ ब्यबस्थापन अभियान सुरु
ओखलढुङ्गान्युज, १६ पुष । लिखु गाउँपालिकामा खाली सिसी र प्लाष्टिक जन्य पद्धार्थको ब्यबस्थापन सम्बन्धि अभियान सुरु भएको छ । गाउँपालिकाको वातावरण तथा विपद व्यबस्थापन समितिको आयोजनामा उक्त अभियान पुष १५ गतेबाट पालिकाका सबै वडाहरुमा सुरु भएको हो ।
अभियान अन्तर्गत गाउँपालिकाका विभिन्न वडाहरुको बजार क्षेत्र तथा यत्रतत्र छरिएर रहेका सिसाजन्य तथा प्लाष्टिक जन्य फोहोर पद्धार्थहरुको संकलन तथा व्यबस्थापन कार्य सुरुवात गरिएको हो । संकलन भएको उक्त फोहोरलाई गाउँपालिकाले तोेकेको निश्चित क्षेत्रमा लगेर ब्यबस्थापन गरिने लिखु गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष एवम् वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक टिकाराम क्याप्छाकी मगरले जानकारी दिए ।
अभियान अन्तर्गत शोमबार लिखु गाँउपालिकाका वडा नं. ४ र ५, मंगलबार वडा नं. १, २ र ३ मा खाली सिसी र प्लाष्टिक जन्य फोहोर पद्धार्थ संकलन गरिएको छ । त्यस्तै बुधबार वडा नं. ६ र ७ तथा विहिबार ८ र ९ नम्बर वडामा अभियान सञ्चालन गरिने वडा अध्यक्ष एवम् वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक मगरले जानकारी दिए ।
सिसाजन्य तथा प्लाष्टिक जन्य फोहोर ब्यबस्थापनका लागि गाउँपालिकाले केहि वर्ष अगाडी नै वडा नं. ३ नर्मदेश्वरको माझिटार र वडा नं. ६ मा डम्पिङ साईड निर्माण गरेको छ । संकलन भएका उक्त फोहोरलाई ती स्थानमा लगेर ब्यबस्थापन गरिने वडा अध्यक्ष क्याप्छाकी मगरले जानकारी दिए ।
गाउँ पालिकाको खाली सिसी र प्लाष्टिक जन्य पद्धार्थको ब्यबस्थापन सम्बन्धि अभियानमा लिखु गाउँपालिकाको वातावरण तथा विपद व्यबस्थापन समितिका सदस्यहरु, पालिका प्रहरी तथा स्थलगत विपद उद्धार समितिका सदस्यहरु सहभागी रहेका छन् ।