साउदीबाट फर्किएका एक पुरुषमा मङ्कीपक्स भएको पुष्टि
ओखलढुङ्गान्युज, १६ पुष । साउदी अरेबियाबाट फर्किएका थप एक जना नेपालीमा मङ्कीपक्स अर्थात एमपक्स रोग भएको पुष्टि भएको छ । केहिदिन अगाडी साउदी अरेबियाबाट फर्किएका ४४ वर्षीय पुरुषमा उक्त सङ्क्रमण पुष्टि भएको हो ।
वैदेशिक रोजगारीबाट नेपाल फर्किएका ती पुरुषमा उक्त सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।
पुरुषको स्वास्थ्य परीक्षणको क्रममा सङ्क्रमण देखिएको र सङ्क्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकीले बताए ।
नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको थियो । गएको पुस ५ गते दोश्रो पटक तथा नेपालीमा पहिलो पटक तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए ।
मङ्कीपक्सको सङ्क्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा र बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ, सङक्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ । सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्र्पकमा आउँदा तिनका र्याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ ।
यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरिरमा प्रवेश गरेर पनि सर्ने गर्छ । बाँदर, मुसा, लोखर्के लगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्छ ।