खोटाङमा बालविवाह गर्ने बेहुला सहित दुई पक्राउ
ओखलढुङ्गान्युज, १५ पुष । खोटाङमा झुक्काएर बालविवाह गर्ने बेहुला सहित दुई जना पक्राउ परेका छन् । आफन्तकोमा हिडेकी १३ बर्षिया बालिकालाई बाटामा नै ललाईफकाई विहे गर्ने बेहुला सहित अर्का एक महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
१३ वर्षीया बालिकासँग बिहे गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बिहे गराउने उनका आफन्त कमला राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । गत पुष ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुष १२ गते र कमलालाई पुष १३ गते पक्राउ गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए।
पक्राउ परेका बेहुला रमेश र आफन्त कमला दुवैजनाविरुद्ध बालविवाह अन्तर्गतको कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । अभियुक्त दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरि घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।
मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ विवाह सम्बन्धी कसूरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । विवाह गर्ने व्यक्तिको उमेर २० वर्षभन्दा कम भएको खण्डमा उक्त विवाह स्वतः रद्ध हुने मुलुकी अपराधसंहिताको बालविवाहसम्बन्धी कसूरमा उल्लेख छ ।
८ कक्षामा अध्ययन गर्दै गरेकी बालिकालाई बेहुलाको घरबाट उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।