नेपाली समय Loading...२०८१ पुस १९ शुक्रबार

सिद्धिचरण नगरपालिका: राष्ट्रपति रनिङसिल्डको उपाधि रुम्जाटारलाई

ओखलढुङ्गान्युज, १३ पुष । सिद्धिचरण नगरपालिकाको रुम्जाटार मावि रुम्जाटारले चौथो राष्ट्रपति रनिङ सिल्डको उपाधि जितेको छ । सिद्धिचरण नगरपालिकाको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएको प्रतियोगितामा रुम्जाटारले दोस्रोपटक उपाधि उचालेको हो ।

आज सम्पन्न भएको प्रतियोगितामा रुम्जाटार मावि रुम्जाटारले ११ स्वर्ण, १६ रजत र ५ काश्य सहित ३२ पदकका साथ प्रथम भएको हो । त्यस्तै सगरमाथा जनता माविले ११ स्वर्ण, ८ रजत र ११ काश्य पदक सहित कुल ३० पदकका साथ दोस्रो बनेको छ । उता लालीगुराँस इङ्लिस बोर्डिङ स्कुलले ५ स्वर्ण, ७ रजत र ५ काश्य सहित कुल १७ पदकका साथ तेस्रो बनेको छ ।

प्रतियोगितामा सहभागी सिद्धिचरण नगरपालिकाका १८ वटा माध्यमिक विद्यालयमध्ये शुभलक्ष्मी इङ्लिस बोर्डिङ स्कुलले ५ स्वर्ण र १ रजत सहित कुल ६ पदकका साथ चौथो बनेको छ । त्यस्तै राज्यलक्ष्मी मावि सानिटार तीन स्वर्ण ३ रजतसहित ६ पदक प्राप्त गर्दै पाँचौं बनेको छ ।
जाल्पा मावि गैरीगाउँले ३ स्वर्ण, २ रजत र ६ काश्य सहित ११ पदक प्राप्त गर्दै छैठौँ बनेको छ ।

पुरुष भलिबलमा विजेता सगरमाथा जनता मावि ओखलढुङ्गा

त्यसैगरी प्रतियोगितामा कुन्ता मावि ज्यामिरेले २ स्वर्ण र २ काश्य सहित ४ पदक, हिमालय मावि निसंखेले दुई स्वर्ण, सनराइज इङ्लिस बोर्डिङ स्कुलले १ स्वर्ण, ३ रजत र ३ काश्य सहित ७ पदक, नारायणस्थानमावि असिनेले १ स्वर्ण, १ रजत र २ काश्य सहित ४ पदक, कडेनी मावि ठुलाछापले १ स्वर्ण र १ रजत सहित २ पदक, नवज्योति मावि मैदानेले तीन रजत तथा जनचेतन मावि भोर्लेले एक काश्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी भएका अन्य छवटा विद्यालयले भने कुनै पनि पदक प्राप्त गर्न सकेन ।

सिद्धिचरण नगरपालिका अन्तरमाध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा होम ग्राउन्डको फाइदा लिँदै विजेता बनेको रुम्जाटार मावि रुम्जाटारले यसपटक सगरमाथा जनता माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा पनि उपाधि जित्दै लगातार दुई वर्ष उपाधि जितेको छ । यसपटक सगरमाथा जनता माविले भने होम ग्राउन्डको फाइदा लिन सकेन ।

प्रतियोगितामा विजेता बनेको रुम्जटार मावि रुम्जाटारले नगद रु १५ हजारका साथमा रनिङशिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो बनेको सगरमाथा जनता माविले नगद रु १२ हजारका साथमा प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो बनेको लालीगुराँस इङ्ग्लिस बोर्डिङ स्कुलले नगद रु १० हजारका साथमा प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगिताका विजेता खेलाडी तथा विद्यालयलाई समापन सत्र कार्यक्रमका प्रमुख अतिथि राज्यव्यवस्था तथा सुशासन समितिका सभापति संघीय सांसद माननीय रामहरि खतिवडा लगायत अतिथिहरूले सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । गत पुस १० गतेबाट सुरु भएको प्रतियोगिता आज १३ गते समापन भएको हो ।