छैठौं राष्ट्रपति रनिङशिल्डको उपाधी ग्रायुसिलाई
आखलढुङ्गान्युज, ८ पुष । जिल्लाको लिखु गाँउपालिकामा सम्पन्न छैठौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधी ग्रामोदय युगकवि सिद्धिचरण माद्यमिक विद्यालय (ग्रायुसि) गाम्नाङटारले जितेको छ । गत शुक्रबारबाट सुरु भएर आईतबार सम्पन्न खेलमा ग्रामोदय युगकवि सिद्धिचरण माविले होम ग्राउण्डको फाईदा लामो समयपछि उपाधी जितेको हो ।
सम्पन्न खेलमा ग्रामोदय युगकवि सिद्धिचरण माविले ९ स्वर्ण, ८ रजत र ३ कास्य सहित कूल २० पदकका साथ प्रथम भएको हो । त्यस्तै यसम मावि यसमले ७ स्वर्ण, ७ रजत र ४ कास्य सहित कूल १८ पदकका साथ दोश्रो बनेको छ । उता जाल्पा मावि टारकेराबारीले पनि ३ स्वर्ण, ६ रजत र ४ कास्य सहित कूल १३ पदकका साथ तेश्रो बनेको छ ।
गत वर्ष उपाधी जितेको जनजिवन मावि वाच्पूले भने ३ स्वर्ण, ३ रजत र ७ कास्य सहित १३ पदकका साथ चौंथो बनेको छ । लेति मावि पोकलीले २ स्वर्ण र १ कास्य पदक सहित ३ पदक तथा भिमसेनस्थान मावि नर्मदेश्वरले ३ कास्य र च्युरीडाँडा मावि सिंहदेवीले २ कास्य पदक प्राप्त गरेको छ । छैठौं राष्ट्रपति रनिङशिल्डमा ज्ञानज्योति मावि कुवापानी भने पदक विहीन बन्न पुग्यो ।
प्रतियोगिताका विजेता खेलाडी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष अशोक कुमार कार्की, उपाध्यक्ष अस्मिता थापा, प्रमुख प्रशासकिय अधिकृत अर्जुन कुमार राउत, गाउँपालिकाका प्रवक्ता मोहन कार्की, वडा अध्यक्षहरु टिकाराम क्याप्छाकी, तारा बहादुर तामाङ लगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।