नेपाली समय Loading...२०८१ पुस ७ आईतवार

खिजीदेम्बा : सातौं राष्ट्रपति रनिङशिल्डको उपाधी फुलमती माविलाई 

ओखलढुङ्गान्युज, ३० मंशिर । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा सम्पन्न सातौं राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिताको उपाधी फुलमती मावि खिजीफलाटेले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा फुलमती माविले उपाधी जितेको हो ।

सम्पन्न प्रतियोगितामा फुलमती मावि खिजीफलाटेले ११ स्वर्ण, २ रजत र ७ कास्य सहित कूल २० पदकका साथ प्रथम भएको हो । त्यस्तै चन्डेश्वरी मावि पोल्थलीले १० स्वर्ण, ९ रजत र ४ कास्य सहित कूल २३ पदकका साथ दोश्रो बनेको छ भने चन्डेश्वरी मावि माझगाँउले ३ स्वर्ण, ५ रजत र ३ कास्य सहित कूल ११ पदकका साथ तेश्रो बनेको छ ।

प्रतियोगितामा सहभागी खिजीदेम्बा गाउँपालिकाका ७ विद्यालय मध्ये २ स्वर्ण, ४ रजत र ९ कास्य सहित १५ पदकका साथ हिमगंगा मावि रावादोलु चौथो भएको छ । 

त्यसैगरि कुन्डली मावि कातिसन्जोर २ स्वर्ण, ४ रजत र ३ कास्य सहित ९ पदकका साथ पाँचौं भएको छ । उता नर्मदेश्वर मावि चप्लेटीले पनि २ रजत र २ कास्य गरि कूल ४ पदक तथा शिवालय मावि छेर्मादिङले पनि २ रजत पदक प्राप्त गरेको छ ।

समापन कार्यक्रममा विजयी विद्यार्थी तथा विद्यालयलाई कोशी प्रदेशका पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् प्रदेश सांसद प्रदिप कुमार सुनुवार, खिजीदेम्बा गाँउपालिकाका अध्यक्ष गोम्बु शेर्पा लगायतले रनिङशिल्ड ट्रफी, ट्रफी, शील्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । अब खिजीदेम्बा गाउँपालिकाको आठौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता हिमगंगा मावि रावादोलुले आयोजना गर्नेछ ।