मोलुङ उपनिर्वाचन अपडेट : शान्तिपुर्ण रुपमा मतदान हुँदै
ओखलढुङ्गान्युज, १६ मङ्सिर । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा पनि मतदान सुरु भएको छ । हालसम्म उपनिर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्राप्चाले जनाएको छ ।
मोलुङ गाउँपालिका वडा नम्बर ५ प्राप्चाको वडा अध्यक्ष पदका लागि आज उपनिर्वाचन भइरहेको हो । उक्त वडामा एक हजार ३ सय २५ मतदाता रहेकोमा बिहान १० बजेसम्म २ सय ४५ जनाले मतदान गरेका छन् । त्यहाँ दुईवटा मतदान केन्द्र मार्फत मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्राप्चाले जनाएको छ ।
वडा अध्यक्ष गोपी कृष्ण कार्कीको निधन भएपछि आज प्राप्चामा पनि उपनिर्वाचन भइरहेको हो । उपनिर्वाचनमा वडा अध्यक्ष पदका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।