पेट्रोलियम पदार्थको मूल्य बढ्यो
ओखलढुङ्गान्युज, १६ मङ्सिर । नेपाल आयल निगमले आइतबार बिहान रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आयल निगमले शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको हो ।
निगमका अनुसार पछिल्लो पटक नेपालले खरिद गरेको पेट्रोलियम पदार्थमा डिजेलमा प्रति लिटर १८ पैसा घटेको र मट्टी तेलमा प्रति लिटर एक रूपैयाँ ७४ पैसा तथा पेट्रोलमा प्रति लिटर ५८ पैसाले बढेर आएको जनाएको छ । त्यस्तै हवाई इन्धनमा प्रति लिटर एक रुपैयाँ ३५ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १४ रुपैयाँ ४९ पैसाले वृद्धि भएर आएको जनाएको छ ।
खरिद गरेर आएको नयाँ मूल्य अनुसार निगमले पेट्रोलमा प्रति लिटर पेट्रोलको मूल्यमा १ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा २ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको जनाएको छ ।
आयल निगमले नयाँ मूल्य अनुसार, पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ, तथा अन्य क्षेत्रमा १५७ रुपैयाँ ५० पैसा कायम गरिएको छ । आयल निगमले जारी गरेको सूचनामा डिजेल र एलपी ग्यासको मूल्य भने हालको लागि नबढाएको जनाएको छ।
आयल निगमले हवाई इन्धनतर्फको मूल्यमा भने वृद्धि गरेको छ । जस अनुसार आन्तरिक हवाई इन्धनको प्रतिलिटर मूल्य १ सय २८ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको नयाँ मूल्य अनुसार, काठमाडौंमा ९ सय ७५ अमेरिकी डलर, पोखरामा ८ सय १८ अमेरिकी डलर, र भैरहवामा ८ सय २ अमेरिकी डलर निर्धारण गरिएको छ ।