नेपाली समय Loading...२०८१ मंसिर १३ बिहीबार

माटेबेसी भलिबल प्रतियोगिता : पोकली र यसमको विजय सुरुवात

ओखलढुङ्गान्युज, १२ मङ्सिर । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ खाल्टे माटेबेसीमा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । भलिबल प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा लिखु गाउँपालिका वडा नम्बर ९ पोकली र लिखु गाउँपालिका वडा नं ५ यसमले विजयी यात्रा सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत लिखु ९ पोकलीले रामेछाप जिल्लाको भैरवीदेवी युवा क्लब लिखु तामाकोशी ४ कल्लेरीलाई २-१ को सेटमा पराजित गर्दै विजयात्रा सुरुवात गरेको हो । त्यस्तै दोस्रो खेलमा लिखु गाउँपालिका ५ यसमले लिखु गाउँपालिका ३ नर्मदेश्वरलाई कडा प्रतिस्पर्धाका बीच २-१ सेटमै पराजित गर्दै विजयी यात्रा सुरुवात गरेको हो ।

माटेबेसीमा रहेको सिद्धेश्वर महादेव चौथो बाला चतुर्दशी महोत्सव २०८१ को अवसर पारेर जनजागरण युवा क्लब खाल्टेले खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा दोलखाको २ टिम, ओखलढुङ्गाको ११ टिम र रामेछाप जिल्लाको ५ टिम गरी १८ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेता टिमले नगद रु १ लाख सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने टिमले नगद रु ७५ हजार सिल मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टिमले नगद रु ५० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई पनि नगद रु २० हजार सहित प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष निक बहादुर मगरले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेल लिखु गाउँपालिका ७ गाम्नाङटार भर्सेस रामेछाप नगरपालिका वडा नम्बर ४ हिमागङ्गाका बीच हुनेछ । त्यस्तै दोस्रो खेल लिखु गाउँपालिका १ सिंहदेवी भर्सेस तामाकोशी गाउँपालिका १ जफे दोलखाका बीच हुनेछ ।