बृद्धाको हत्या गरेको आरोपमा ओखलढुङ्गामा एक किशोर पक्राउ
ओखलढुङ्गान्युज, ११ मंशिर । जिल्लाको खिजिदेम्बा गाउँपालिकाका एक बृद्धाको हत्या गरेको आरोपमा किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा खिजिदेम्बा गाउँपालिका वडा नं. ६ का १३ बर्षिया किशोर रहेका छन् ।
नाताले हजुरआमा पर्ने ८२ बर्षिया ठगमाया सुनुवारको हत्या गरेको आरोपमा सोहि स्थानका किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) कृष्ण खड्काले जानकारी दिए । घटनाको अनुसन्धानको क्रममा मंशिर ९ गते १३ बर्षिय किशोरलाई पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिए ।
गत मंशिर ६ गते बृद्धा सुनुवार आफ्नै भान्सा कोठामा मृत फेला परेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । भान्सा कोठामा नै मृत भेटिएकी बृद्धाको मृत्यु शंकास्पद देखिएपछि अनुसन्धानको लागि घटनाको भोलिपल्ट नै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
पक्राउ परेका किशोरले आफूले हजुरआमाको हत्या गरेको स्विकार गरेको पनि प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिए । पक्राउ परेका किशोरले हजुरआमाले सधै मादक पद्धार्थको सेवन गरेर आफूलाई विनाकारण अपशब्द बोली गालिगलौज तथा कुटपिट गर्ने गरेका बताएका छन् । मंशिर ५ गते पनि मृतकको घर भै आफ्नो काममा जाने क्रममा आफूलाई बोलाई गालिगलौज गरेकोले सहन नसकी आगो फुक्न प्रयोग हुने फलामको ढुंग्रीले टाउकामा प्रहार गरि आफू हिडेको बताएको प्रहरीले जनाएको छ । सोहि कारण बृद्धाको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।
घटनापछि पक्राउ परेका आरोपित किशोरलाई आईतबार जिल्ला अदालत ओखलढुङ्गाबाट कर्तव्य ज्यान मुद्धाको कसुरमा अनुसन्धानका लागि म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।