लिखुको गाम्नाङ्गटारमा फुटबल प्रतियोगिता, विजेताले पाउनेछन् १,०१,१११
ओखलढुङ्गान्युज, ७ मंशिर । जिल्लाको लिखु गाउँपालिका वडा नं. ७ गाम्नाङ्गटारमा पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । आगामी मंशिरको २१ गते देखी २३ गतेसम्म गाम्नाङ्गटारको ग्रामोदय युगकवि सिद्धिचरण माविको खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।
नेपाल सरकारले एक पालिका एक खेलमैदानको अबधारणा घोषणा गरेको भएपनि गाउँपालिकाले यसको बारेमा खासै चासो गरेको छैन । तर स्थानीय सनराईज युवा क्लबले ‘युवा एकता लगनशिलता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ स्थानीय स्तरमा नै रहेको खेल मैदानको सदुपयोग गर्दै माविको खेलमैदानमा नाईन ए साईड (9A Size) फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिता आगामी मंशिरको २१ गते देखी २३ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजेताले १ लाख १ हजार १ सय ११ रुपैया नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सनराईज युवा क्लबका अध्यक्ष राजेन्द्र बस्नेतले बताए । त्यस्तै प्रतियोगिताका उपविजेताले नगद रु ७५ हजार ५ सय ५५ का साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि अध्यक्ष बस्नेतले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले पनि पुरस्कार प्राप्त गर्नेछन् । उनीहरुले क्रमशः नगद रु ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन सत्रको दिन अर्थात २१ गते स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहेको आयोजकले जनाएको छ ।