स्वास्थ्य विमा गरेका विरामीले पुनः आजबाट पाउन थाले सुबिधा
ओखलढुङ्गान्युज, ६ मंसिर । आज (विहिबार) बाट ओखलढुङ्गाको सामुदायीक अस्पताल मिसन सोब्रुले स्वास्थ्य विमा गरेका सेवाग्राहीहरुलाई पूनः सेवा दिन थालेको छ । विगत एक हप्ता अगाडी देखी रोकिएको उक्त सुबिधा आजबाट प्रदान गर्न लागिएको अस्पतालले विज्ञप्ती जारि गर्दै जानकारी गराएको हो ।
विज्ञप्ती जारि गर्दै अस्पतालले भनेको छ, ‘ओखलढुङ्गा सामुदायीक अस्पताल र स्वास्थ्य विमा बोर्डको स्वास्थ्य विमा कार्यक्रम सञ्चालन सम्झौता मिति २०८१ साल कातिक ३० गते समाप्त भएपछि स्वास्थ्य विमा बोर्डबाट सम्झौता नविकरण नभएसम्मका लागि स्थगित रहेकोमा मंसिर ५ गतेबाट स्वास्थ्य विमा बोर्डबाट यस अस्पतालसँग सम्झौता नविकरण भएको जानकारी गराउदै ओखलढुङ्गा सामुदायीक अस्पतालबाट प्रदान गरिने स्वास्थ्य विमा सेवा पुनः सुचारु भएको सबै सेवाग्राहीहरु एवंम् सरोकारवालाहरुलाई जानकारी गराईन्छ ।’
गत मंसिर १ गते अस्पताल प्रशासनले आकस्मिक सूचना जारी गर्दै स्वास्थ्य विमा बोर्डसँग गरिएको सम्झौता सकिएको र अर्को नविकरण नभएको भन्दै नविकरण नभएसम्म स्वास्थ्य विमा कार्यक्रम रोकिएको जनाएको थियो । आकस्मिक सूचना आएपछि सेवा लिन गएका सेवाग्राहीहरु स्वास्थ्य विमा गरेको कार्ड भएपनि शुल्क बुझाएर उपचार गर्न बाध्य थिए । अस्पतालले सूचना निकालेर सेवा रोकिएको जनाएपछि सेवाग्राही तथा उनका आफन्तहरुले सामाजिक सञ्जालबाट सरकारले समयमा नै नविकरण नगरेको भन्दै आलोचना गरेका थिए ।