ओखलढुङ्गाको जिसस प्रमुखमा कांग्रेसका भट्टराईको एकल उमेदवारी
ओखलढुङ्गान्युज, ३ मंशिर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत ओखलढुङ्गाको जिल्ला समन्वय समिति प्रमुखको पदमा एकजनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । आगामी मंशिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत ओखलढुङ्गाको जिल्ला समन्वय समिति प्रमुखको पदमा कांग्रेसका टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेको हो ।
आइतबार भएको उम्मेदवार मनोनयनमा नेकपा एमालेले कांग्रेसलाई सघाउँदै आफ्नो उम्मेदवार नउठाएपछि कांग्रेसका नेता भट्टराई सर्वसम्मत जिल्ला समन्वय समिति प्रमुख बनेका छन् । एकल उमेदवारी सँगै भट्टराई सर्वसम्मत जिल्ला समन्वय समिति प्रमुख बनेपनि निर्वाचनका कार्यक्रम अनुसार नै १६ गतेपछि निर्वाचित भएको औपचारिक घोषणा गरिने जिल्ला समन्वय समिति मुख्य निर्वाचन अधिकृत बिदुर बस्नेतले जानकारी दिए ।
करीब डेढवर्ष अगाडी तत्कालिन जिल्ला समन्वय समिति प्रमुख डिल्लीराम खनालको मृत्यु भएपछि रिक्त पदमा मंशिर १६ मा उपनिर्वाचन हुन लागेको हो । ओखलढुङ्गामा रहेका ८ स्थानीय तहका १६ प्रमुख उपप्रमुख मध्ये कांग्रेसको तर्फबाट ५ पालिका प्रमुख र ४ उपप्रमुख गरी ९ जनाले जितेका छन् । एमालेले १ पालिका अध्यक्ष, ४ उपसहित ५, माओवादीले १ अध्यक्ष र जसपाले १ अध्यक्ष जितेका छन् ।
जिससका मतदाता नै पालिका प्रमुख उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ । अब कांग्रेस उम्मेदवार टेकराज भट्टराई सर्वसम्मत साढे २ वर्ष जिल्ला समन्वय समिति प्रमुख बन्नेछन् ।