ओखलढुङ्गामा बन्यो सत्ता साझेदार कांग्रेस एमालेको कार्यदल
ओखलढुङ्गान्युज, २ मंशिर । बर्तमान सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित कार्यदल ओखलढुङ्गामा गठन भएको छ । ओखलढुङ्गा कांग्रेसको पार्टी कार्यालयमा बसेको दुईदल सम्मिलित बैठकले कार्यदल बनाउदै जिम्मेवारी तोकेको हो ।
बैठकमा नेपाली कांग्रसेको तर्फवाट कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनाल, सचिव अजय लुईटेल र राजकुमार ढुंगाना, एमालेका तर्फबाट जिल्ला ईन्चार्ज तथा संविधानसभा सदस्य यज्ञराज सुनुवार, जिल्ला अध्यक्ष जिबी खड्का र सचिव अशोक थापा सहभागी रहेका थिए ।
दुई दलिय बैठकले ओखलढुङ्गाको विकास निर्माणका लागि साझा अवधारणा तयार गर्न नेपाली कांग्रेसका सचिव अजय लुइटेल र नेकपा एमालेका सचिव अशोक थापालाई जिम्मेवारी तोकेको छ । जिल्लामा सञ्चालनमा रहेको तर कार्यसम्पन्न नभएका योजनाको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन र बाढी प्रभावितहरुलाई आवश्क राहत तथा पूननिर्माणका लागी सरकारसँग माग अनुरोध गर्न कांग्रेस सभापति खनाल र एमाले अध्यक्ष खड्कालाई जिम्मेवारी तोकेको छ ।
बैठकले जिल्लामा आगामी हुने उपनिर्वाचनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न समन्वयका लागि कांग्रेस सभापति खनाल र एमाले अध्यक्ष खड्कालाई जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकमा सत्ता साझेदारलाई ८ वटै पालिकामा सुदृढ बनाउन स्थानीय तहसँग समन्वय गर्ने निर्णय पनि भएको कांग्रेसका सभापति खनालले जानकारी दिए ।