नेपाली समय Loading...२०८१ मंसिर ६ बिहीबार

आज यमपञ्चकको दोश्रो दिन कुकुर तिहार, आज नै लक्ष्मी पूजा पनि

आज तिहारको दोश्रो दिन कुकुर तिहार

ओखलढुङ्गान्युज, १५ कात्तिक । आज हिन्दू धर्मावलम्बीहरूको दोश्रो महान् पर्व तिहार अन्तर्गत यमपञ्चकको दोश्रो दिन कुकुर तिहार । आज बेलुकी नै लक्ष्मी पूजा पनि गरिदैछ । 

तिहारको दोश्रो दिन कुकुर तिहारमा कुकुरलाई पूजा गर्नुपर्ने भएपनि तिथीको घटबढका कारण आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यमपञ्चक अन्तर्गत कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रमा उल्लेख छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । 

आज नै लक्ष्मी पूजा 

तिथिको घटबढका कारण आज विहान कुकुरको पूजा गरेर बेलुकी लक्ष्मी पूजा गरिदैछ । आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । 

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दीयोको स्थानमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । आज साँझ युवतीले समूह बनाई घरघरमा भैलो खेल्छन् । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।