नेपाली समय Loading...२०८१ मंसिर ६ बिहीबार

तिहारको यमपञ्चक सुरु, पहिलो दिन आज काग तिहार

ओखलढुङ्गान्युज, कात्तिक १४ । हिन्दुहरुको दोश्रो महान् पर्व तिहार अन्तर्गत आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । आज (बुधबार) विभिन्न प्रकारका मिठो खानेकुरा सहित कागको पूजा गरिँदैछ।

(आज) बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म मात्र त्रयोदशी तिथि रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन बिधी पुर्वक कागको पूजा गर्ने विधान रहेको छ ।  

काग अत्यन्त चलाख पक्षी हो । कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ । काग यमराजको प्रियपात्र भएकाले सन्देशवाहकका रूपमा कागको पूजा गरिन्छ ।हाम्रो समाजमा कागको आवाजको प्रकृति अनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ । कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ ।

काग यमलोक र मर्त्यलोक दुवै ठाउँमा उडेर पुग्न सक्छ भन्ने मान्यता रहेको छ । त्यसैले लोकमा भएको शुभ सन्देश लिएर जाओस्, अशुभ सन्देश नसुनाओस् भनेर ‘काक बलि’ अर्थात् कागलाई मनपर्ने परिकार खान दिई सम्मान गरिन्छ ।

कागलाई शनि देवताको वाहनको रूपमा पनि मानिने भएकाले यसलाई न्याय र कर्मका प्रतीकको रूपमा हेरिन्छ । कागले व्यक्तिका कर्महरूको फलको प्रतिनिधित्व गर्न सक्छ भन्ने जनविश्वास छ । शनि देवताको पूजा गर्दा कागलाई भोग अर्पण गर्नाले शुभ फल प्राप्त हुने विश्वास गरिन्छ ।