नेपाली समय Loading...२०८१ मंसिर ६ बिहीबार

आइसीसी विश्वकप लिग -२ मा नेपालको दोस्रो जित

ओखलढुङ्गान्युज, १४ कातिक । गएराति सम्पन्न आइसीसी विश्वकप लिग -२ क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित निकालेको छ । क्रिकेटमा भएको जितको खडेरीलाइ पन्छाउदै करीब ८ महिना पछि नेपालले स्कटल्याण्ड माथि ५ विकेटको जित हासिल गरेको हो । 

सम्पन्न खेलमा टस जितेर नेपालले स्कटल्याण्डलाइ ब्याटिङको निम्तो दिएको थियो । पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४१.४ ओभरमा १५४ रन बनाउदै अल आउट भएको थियो । प्रतिउत्तरमा ब्याटिङ गर्दै १५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गरेको हो ।

सम्पन्न खेलमा नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट, करण केसी, सोमपाल कामी र गुल्सन झाले २-२ विकेट लिए । आरिफ शेखको नाममा १ विकेट रह्यो । त्यस्तै स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले २, ब्राण्ड कुरी, मार्क वाट र ज्याक जार्विसले १-१ विकेट लिए ।

यस अगाडि नेपालले ९ वटा खेल खेल्दा गत फेब्रुअरी १७ मा आफ्नै होमग्राउन्ड टीयुको क्रिकेट मैदानमा नेदरल्याण्ड विरुद्ध जित हासिल गरेको थियो । गएरातीको जितसँगै लिग -२ मा अब नेपाल १० खेलमा २ जितमा साथ ५ अंक प्राप्त गर्दै सातौ स्थानमा उक्लिएको छ । नेपालले अव फेरि शनिबार अमेरिका र सोमबार स्कटल्यान्डसँग खेल्नेछ ।

आइसीसी विश्वकप लिग -२ क्रिकेटमा स्कटल्यान्ड भने ९ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । ८ टोली सहभागी लिग २ मा शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।