नेपाली समय Loading...२०८१ चैत्र २८ बिहीबार

खुर्कोटको बेलीब्रिजको उद्घाटन भएसँगै सञ्चालनमा 

ओखलढुङ्गान्युज, ६ कातिक । रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको बेलिब्रिज निर्माण सम्पन्न भएसँगै मंगलबार(आज) उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, ऊर्जा जलस्रोत तथा सिचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) ले बेलिब्रिज पुलको उद्घाटन गरेका हुन् ।

बेलिब्रिज उद्घाटन भएसँगै पुलमा एकतर्फी गाडी चल्न थालेको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोसी नदीमा आएको बाढीले रामेछाप जिल्ला तर्फको खुर्कोटको पुलको आधा भाग बगाएको थियो । बाढीले खुर्कोटको पुल बगाउँदा रामेछाप र ओखलढुङ्गा आवतजावत गर्न वैकल्पिक सडक दोलखा हुँदै वा सित्खा पुल पार गरेर कष्टकर यात्रा गर्नु परेको थियो ।

सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोटमा रहेको सुनकोशी नदी माथिको उक्त पुल १० बर्ष अगाडी करिब १८ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो । १ सय मिटर लम्बाइ रहेको उक्त पुल बाढीले रामेछाप तर्फको ५१ मिटर बगाएको थियो । रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका लागि उक्त पुलले सहज पार्दै आएको थियो ।

बाढीले बगाएको उक्त पुल निर्माण सम्पन्न गर्नका लागि नेपाली सेनालाई जिम्मा दिइएको थियो । नेपाली सेनाले करिब तिनहप्ता लगाएर बेलीब्रिज निर्माण सम्पन्न गरेको हो ।