नेपाली समय Loading...२०८१ कार्तिक २ शुक्रबार

भोलि र पर्सी बालबालकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाईदै


फायल फोटो

ओखललढुङ्गान्युज, कात्तिक भोलि र पर्सी अर्थात कार्तिक २ र ३ गते बालबालिकाहरुलाई भिटामिन ए खुवाईने भएको छ । सरकारको नियमित राष्ट्रिय कार्यक्रम अन्तर्गत यस वर्ष पनि कात्तिक २ र ३ गते अर्थात शुक्रबार र शनिवार देशभरका पाँच वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए खुवाउन लागिएको हो ।

भिटामिन ए क्याप्सुलसँगै बालबालिकाहरुलाई जुकाको औषधी पनि खुवाउन लागिएको हो । भिटामिन ए र जुकाको औषधीसँगै १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले २०५० साल देखी नियमित रुपमा भिटामिन ए क्याप्सुल तथा २०५६ सालदेखी जुकाको औषधी खुवाउने अभियान थालेको हो । भिटामिन ए तथा जुकाको औषधीहरु महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्थाहरुले प्रदान गर्नेछन् । नेपाल सरकारले विगत लामो समयदेखी बैशाख र कार्तिक महिना गरि बर्षमा दुईपटक भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रम अन्तर्गत ओखलढुङ्गा जिल्लामा पनि ८ हजार ८ सय ११ जना बालबालिकालाई भिटामिन ए र ७ हजार ७ सय बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी विवेक पोख्रेलले जानकारी दिए । सूचना अधिकारी पोख्रेलका अनुसार जिल्लाका आठ स्थानीय तहमा रहेका ६ सय ८० जना सामुदायीक महिला स्वास्थ्य स्वयम सेविकाहरुले शुक्रबार तोकिएको स्थानबाट र शनिवार भने छुटेका बालबालिकाहरुलाई घरघरमा नै गएर भिटामिन ए र जुकाको औषधी खुवाउने छन् ।