नेपाली समय Loading...२०८१ कार्तिक २ शुक्रबार

बडादशैं अन्तर्गत आज विजया दशमीः उत्तम साईत ११ः३६ मा

ओखलढुङ्गान्युज, २६ असोज । आज हिन्दू धर्मावलम्बीहरुको महान् पर्व बडा दशैंको विजया दशमी । यस बर्षको विजया दशमीको टीकाको उत्तम साईत विहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आज विजया दशमीका दिन मान्यजनको हातबाट टिका जमरा लगाउनुका साथै आशिर्वाद लिने चलन छ । आज विजया दशमीमा लगाईने टिकाको उत्तम साइतमा टिका लगाउन नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र दिनभर नै टीका लगाउन सकिने समेत पञ्चाङ्ग समितिले जनाएको छ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने  समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ बजेर ३३ बजे रहेको समितिले जनाएको छ । चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाइदिने पश्चिम फर्केर लगाइदिँदा राम्रो मानिन्छ ।

आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

विजयादशमीमा टीका लगाइदिँदा भनिने मन्त्र

आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलधरे दानं कुन्तीसुते

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।