आज बडा दशैं अन्तर्गत महाअष्टमी र महानवमी पनि
ओखलढुङ्गान्युज, २५ असोज । आज हिन्दू नेपालीहरुको महान् पर्व बडा दशैंको नवौं दिन । आज वडा दशैं अन्तर्गतको महाअष्टमी र महानवमी पर्व एकै साथ मनाईदैछ । तिथीको घटबढका कारण यसपाली महाअष्टमी र महानवमी पर्व एकैदिन परेको हो ।
आज महाअष्टमीको अवसरमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय धर्म ग्रन्थमा उल्लेख गरिएको छ ।
त्यसैगरी, आज नै महानवमीका अवसरमा नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्री देवीको पूजा आराधना गरिँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई खीर पनि चढाउने गर्दछन् । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ।