बडा दशैं अन्तर्गत आज कात्यायनी देवीको पूजा आराधना गरिदै
ओखलढुङ्गान्युज, २३ असोज । आज बडादशैंको सातौं दिन । तर तिथीको घटबढका कारण आज नवदुर्गामध्येकी छैठौं देवी कात्यायनीको पूजा आराधना गरि मनाइदैछ।
बडादशैं अन्तर्गत दिनका हिसाबले आज बुधबार नवदुर्गामध्येकी सातौ देवी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो । तर नेपालमा तिथिमिति र चाडपर्व निर्धारण गर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो वर्ष नवरात्रमा चतुर्थी तिथि दुई दिन परेकाले सातौ दिनका दिन पनि षष्ठी तिथिमा गर्ने कर्म गर्न लागिएको हो ।
पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बुधबार षष्ठी तिथि ३ घडी ५१ पला मात्र छ । अर्थात् आज नै बिहान ७ बजेर ३३ मिनेटपछि सप्तमी तिथि लाग्छ । सूर्योदय हुँदाको तिथि लिनुपर्ने मान्यताअनुरूप बुधबार षष्ठीकै कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।
पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् । कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो । यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ।