हिन्दू नेपालीहरुको महान चाड दशैं सुरु, आज घटस्थापना
ओखलढुङ्गान्युज, १७ असोज । आजबाट हिन्दू नेपालीहरुको महान चाड बडादशैं सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।
बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।
विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन र ११ बजेर ३६ मिनेटमा शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।