नेपाली समय Loading...२०८१ पुस ७ आईतवार

तीन दिन राष्ट्रिय शोक मनाउने सरकारको घोषणा 

ओखलढुङ्गान्युज, १४ असोज । नेपाल सरकारले मंगलबार देखि तीन दिन सम्म राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको हो ।

गत विहिवार देखी परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट दुई सयभन्दा धेरै नागरिकको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो । मन्त्रीपरिषदको आजकै बैठकले सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिए । त्यस्तै बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

मन्त्रीपरिषदको निर्णय आउनु पुर्व नै नेकपा माओवादी केन्द्रको बैठकले आफ्ना सबै सांसदहरुको १० दिनको तलब भत्ता बाढी पिडितलाई प्रदान गर्ने निर्णय गरेको थियो । असोज १० गतेदेखि भएको बर्षाका कारण आएको बाढी र पहिरोले शोमबार बेलुकीसम्म २ सय ९ जनाको मृत्यु भएको छ ।