पहिरोले सिद्धिचरण लोकमार्ग अबरुद्ध
ओखलढुङ्गान्युज, १२ असोज । विहिवार देखी परेको अविरल बर्षाका कारण पहिरो जाँदा सिद्धिचरण लोकमार्ग अबरुद्ध बनेको छ । गएराति जिल्लाको मानेभञ्ज्याङ गाँउपालिकामा पहिरो जाँदा सिद्धिचरण लोकमार्ग अबरुद्ध बनेको हो ।
अबिरल बर्षाका कारण सिद्धिचरण लोकमार्ग अन्तर्गत जिल्लाको मानेभञ्ज्याङ गाँउपालिका वडा नं ६ र ७ को सिमानामा रहेको भँडारे खोलामा लेदो आउनुका साथै त्यस नजिकै २ स्थानमा पहिरो जाँदा सडक अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण खड्काले जानकारी दिए ।
पहिरो र खोलाको लेदो पन्छाएर सडक सुचारु गराउनका लागि प्रहरीको टोली परिचालन गरिएको छ । हर्कपुर सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो गएको नजिकै जेसीबी आइपुगेको छ । तर निरन्तर बर्षातका कारण पहिरो र खोलाको लेदो पन्छाउन समस्या भैरहेकोले बाटो अबरुद्ध जारी रहेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।