नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

अविरल बर्षाका कारण रानीवनमा एउटा घरमा क्षति

ओखलढुङ्गान्युज, १० असोज । विहिवार देखी परेको अविरल बर्षाका कारण जिल्लाको चम्पादेवी गाँउपालिकाको रानीवनमा एक घर लडेर क्षति भएको छ । चम्पादेवी गाँउपालिका वडा नं १० रानीवन, साविकको वडा नं ९ चिसापानी टोलका विष्णु कार्कीको घर लडेको हो ।

विष्णु कार्कीकी क्षति भएको घर

निरन्तर बर्षातका कारण कार्कीको ढुङ्गामाटाले बनेको, जस्ताको छानो भएको दुइतले घरको एकापाटा पुरै झरेको हो । घरको एकापाटा नै भत्किदा भुइतलामा रहेको एउटा बाख्रा पुरिएको थियो । भुइँतलामा ९ वटा खसी बाख्रा रहेको भए पनि एउटा मात्रै पुरिएको थियो । पुरिएको बाख्रा जिवितै उद्दार गरिएको भएपनि बाच्न नसक्ने अबस्थामा रहेको घरधनी कार्कीले बताए ।

उक्त घरको भुइँतलामा बाख्रा राखिएको र माथिल्लो तलामा किचन रहेको थियो । निरन्तर बर्षातका कारण घरका परिवार अर्को घरमा रहेको र दिउँसो १२ बजेतिर घटना भएकोले अन्य कुनै मानविय क्षति भने भएको छैन । 

घटनाको बारेमा विस्तृत विवरण भने आउन बाँकी छ ।

यसैबिच विहिवार विहान देखी परेको अविरल बर्षाका कारण जिल्लाको विभिन्न स्थानहरूमा रहेको भित्री कच्ची सडकहरु अबरुद्ध हुन थालेको खबर आउन थालेको छ । शुक्रबार विहान देखी अबरुद्ध रहेको मोलुङ २ को पहिरे खोलाको अबरोधलाइ भने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण खड्काको नेतृत्वमा गएको प्रहरी, नेपाली सेना र शशस्त्र प्रहरीको टोलीले सिद्धिचरण नगरपालिकाको डोजर‌ प्रयोग गरि हटाएको छ । 

निरन्तर बर्षात जारि रहेकोले पुन अबरुद्ध हुन सक्ने र जिल्लाका अन्य स्थानका सडकहरु समेत अबरुद्ध हुन सक्ने भएकाले सुरक्षित रूपमा सवारी साधन चलाउन र यात्रा गर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ ।