दशैको मुखैमा मनशुन सक्रियः ओखलढुङ्गा पनि रेडजोनमा
ओखलढुङ्गान्युज, १० असोज । हिन्दू नेपालीइहरुको महान चाड बडा दशैं घरघरमा भित्रन लाग्दै गर्दा देशभर मौसम सक्रिय बनेको छ । मनसुन सक्रिय बनेपछि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका ५६ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।
आज विहिबार देखी १३ गते आईतबार साँझ सम्मका मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेड अलर्ट जारी गरेको हो । ‘रेड अलर्ट’ले सक्रिय मनसुन पछि हुनसक्ने सम्भावित उच्च जोखिमको सम्भावनालाई जनाउँछ । मौसम पूर्वानुमान महाशाखाले गत असोज ७ गते एक सूचना प्रकाशित गर्दै २७ जिल्लालाई मात्र रेड अलर्टको सूचिमा राखेको थियो ।
मनसुन थप सक्रिय बनेपछि ९ गते बुधबार एक विशेष बुलेटिन जारि गर्दै ५६ जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला ९मुगु र हुम्ला० मात्र न्यून जोखिममा छन् ।
मनसुन सक्रिय बनेसँगै ओखलढुङ्गा जिल्लाका अधिकांश स्थानहरुमा विहिबार विहानै देखी निरन्तर वर्षात भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाले ओखलढुङ्गा जिल्लालाई पनि रेड अलर्टको सूचिमा राखेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आईतबार साँझसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मनसुन सक्रिय बनेर हुने वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुनसक्ने , ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्दा यातायात समेत प्रभावित हुनसक्ने आशंका छ । यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरेको छ ।