मुख्यमन्त्री कार्कीले पाए दोश्रो पटक विश्वासको मत
ओखलढुङ्गान्युज, २ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट २ तिहाई बढी मतका साथ दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । आज बुधबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा दुई तिहाई बढी अर्थात ६६ मतका साथ विश्वासको मत प्राप्त गरेका हुन् ।
आज बुधबार भएको विश्वासको मत लिने मतदानमा मुख्यमन्त्री कार्कीको विपक्षमा १५ मत परेको थियो । कोशी प्रदेशका ८३ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । उपस्थित २ जना प्रदेशसभा सदस्यले मतदान प्रक्रियामा भाग लिएनन् ।
गत वैशाख २७ गते नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संविधानको धारा १६८ ९५० अनुसार दोस्रोपटक विश्वासको मत लिएका हुन् । माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । संघिय सरकारमा सत्ताको गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते सरकारबाट बाहिरिएको थियो ।
९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताको अर्को घटक कांग्रेसका २९ सांसद छन् । सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस पनि सहभागी भएको छ ।