कोशीका पूर्व मुख्यमन्त्री कार्की आजबाट आमरण अनसन बस्ने
ओखलढुङ्गान्युज, २५ भदौ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आज मंगलबार अपरान्ह ४ बजेबाट आमरण अनसन बस्ने भएका छन् । शोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै कार्कीले आजबाट प्रदेश सभा भवन अगाडी आमरण अनसन बस्ने बताएका हुन् ।
जनताको मुद्धा उठाएर अनसन बस्न लागेकोले सबै राजनितीक दलका साथीहरुले आफ्नो अनसनलाई समर्थन गर्ने दाबी गरे । आफ्नो आमरण अनसनमा समर्थक र सामाजिक अभियान्ताहरुको समेत साथ हुने पूर्व मुख्यमन्त्री कार्कीले दाबी गरे । आईतबार बर्तमान मुख्यमन्त्री कार्की समक्ष विभिन्न ९ वटा बुँदामा माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए । आज मंगलबार दिउँसो २ बजेसम्म ४८ घण्टा पूरा हुने र माग पूरा नभए ४ बजेपछि अनसन बस्ने कार्कीले पत्रकार सम्मेलनमा बताएका थिए ।
कार्कीले मुख्यमन्त्रीलाई बुझाएको मागको बुँदामा १० बर्ष मुनीका बालबालिकाका लागि विशिष्टिकृत सेवा सहित निशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्नुपर्ने, प्रदेशले विनियोजन गर्ने बजेटमा २५ लाख भन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने लगायतका रहेका छन् ।
पत्रकार सम्मेलनमा कार्कीले आफूले उठाएको माग जनताको माग भएकोले आफू बरु मर्ने तर अनसन छाडेर नभाग्ने बताएका छन् । जनताको मागको विषय भएकोले जनताको हितका लागि आफू अनसन बस्न लागेकोले आफू पार्टीको झण्डा नराखी अनसन बस्ने बताए ।
कार्कीको माग र अनसन बस्ने विषय नितान्त ब्यक्तिगत भएकोले कांग्रेसको समर्थन नरहने कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङले बताएका थिए । पत्रकार सम्मेलनमा कार्कीले अनसन बस्ने कुरामा कांग्रेसको समर्थन छैन भन्ने कुरा गलत भएको भन्दै कांग्रेसको समर्थन छ भन्ने देखाउन विराटनगर महानगरपालिकाका प्रमुख तथा कांग्रेस मोरङ उपसभापति नागेश कोईराला, कांग्रेस महानगर सभापति दिपक चापागाँईलाई सँगै राखेर पत्रकार सम्मेलन गरेका थिए ।