कारागारका कैदीहरुलाई तीजमा दर खान जालोको सहयोग
ओखलढुङ्गान्युज, १९ भदौ । ओखलढुङ्गामा कृयाशिल रहेको महिला सामुदायीक सुरक्षा (जालो) ले आउदै गरेको हरितालिका तीज पर्वको अवसर पारेर ओखलढुङ्गाको जिल्ला कारागारमा रहेका कैदीहरुलाई खाद्य सामाग्री प्रदान गरेको छ । जालोको अगुवाई तथा मेची–महाकाली बुहारी आवास शाखा समितिको संयुक्त उपस्थितीमा मंगलबार खाद्यान्न, मासु तथा फलफुल प्रदान गरेको हो ।
कारागारका कैदीहरुलाई जालोको तर्फबाट १५ हजार १ सय ६० रुपैया बराबरको मासु, चिउरा, फलफुल तथा मसलाजन्य सामाग्री उपलब्ध गराईएको हो । उक्त सामाग्री जिल्ला समन्वय समिति ओखलढुङ्गाका उपप्रमुख तारादेवी कार्की मार्फत हस्तान्तरण गरिएको परिवर्तनशील महिला सामुदायीक संस्था ओखलढुङ्गाकी प्रमुख तथा जालोकी सदस्य पेमडोमा शेर्पाले जानकारी दिईन् ।
कारागारमा अपराध पुष्टि भएका मात्र नभई पूर्पक्षका लागि थुनामा पठाईएका समेत भएको र उनीहरुले आफ्नो परिवारसँग तीज पर्व मनाउन नपाएको अबस्थामा परिवार साथमा नभएपनि तीजपर्व रमाईलो बनोस भनेर सामाग्री सहयोग गरिएको शेर्पाको भनाई छ ।
जालोले आफ्नो मासिक बैठकमा आफ्ना सदस्यहरुबाट न्यूनतम शूल्क उठाई उक्त रकमलाई विभिन्न असहाय, विपन्नको उपचार, खाद्यान्न सामाग्री सहयोग जस्ता कार्यमा सहयोग गर्दै आएको छ । खाद्य सामाग्री सहयोग गरिएको कारागारमा हाल क्षमता भन्दा बढी कैदी बन्दि अर्थात ७ जना महिला र ८६ जना पुरुष कैदी बन्दिहरु रहेका छन् ।