नेपाली समय Loading...२०८२ बैशाख ५ शुक्रबार

खोटाङमा पहिरोले पुरिएर‌ स्कुल जादै गरेकी शिक्षिकाको मृत्यु 

ओखलढुङ्गान्युज, ३१ साउन । खोटाङमा पढाउनका लागि विद्यालय जादै गरेकी एक शिक्षिकाको पहिरोले पुरिएर‌ मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको रावाबेशी गाँउपालिका वडा नं. ३ लामिडाँडाकी ५७ बर्षिया सावित्रादेवी नेवार रहेकी छन् । 

विहिवार विहान विद्यालय जादै गरेको अबस्थामा माथिबाट खसेको पहिरोले पुरिएर‌ नेवारको मृत्यु भएको लामिडाँडाका वडा अध्यक्ष विरेन्द्र मगरले जानकारी दिए । उनी स्थानीय विश्वज्योति मावि लामिडाँडाका शिक्षिका हुन् । दैनिक पैदल यात्राबाट नै विद्यालय जाने आउने गरेकी नेवारलाई आज (विहिबार) विहान पनि पैदल यात्राबाट नै विद्यालय जादै गरेको अबस्थामा विद्यालय नजिकै वडा कार्यालयको छेउमा पहिरोले पुरेको हो । 

पहिरोले पुरिएर‌ बेपत्ता भएकी नेवारलाई स्थानीय र प्रहरीले पुरिएको स्थानबाट मृत अबस्थामा बाहिर निकालेका थिए । सँगै रहेकी अर्की महिला भने भागेर बच्न सफल भएको बताइएको छ । बिगत केहिदिनदेखी परेको अविरल बर्षाका कारण विभिन्न स्थानहरूमा पहिरो गएर क्षति हुनेक्रम बढिरहेको बेला खोटाङमा भने शिक्षिकाको नै मृत्यु भएको हो । शिक्षिका नेवार केहि समय पश्चात अनिवार्य अबकाश हुदै थिइन् ।